जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ घाइते

nepalglobalnetwork.com

गुल्मीमा स्कारपियो दुर्घटना : ६ जनाको मृत्यु, तीन जना घाइते

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

प्रहरी चौकी पुर्तिघाका   अनुसार आज दिउँसो  करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको BAA ०२२० नम्बरको स्कारपियो सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको थियो ।


दुर्घटनाबारे दिउँसो ४ः३० बजे प्रहरी चौकी पुर्तिघाटमा जानकारी प्राप्त भएको थियो।  प्रहरीको विवरणअनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। उपचारका क्रममा मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका–२ निवासी नीता बगाले रहेकी छन्।


घटनास्थलमै मृत्यु हुनेमा स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ निवासी ६७ वर्षीय दिलीपकुमार बागले, वालिङ नगरपालिका–१० निवासी ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल वालिङ बस्ने ५०–५५ वर्षीय लोकनाथ पाण्डे, सिरकोट घर भई हाल बुटवल बस्ने सीता पाण्डे र सिरकोट घर भई हाल बुटवलको खैरेनी बस्ने कुलानन्द पाण्डे रहेको  जिल्ला प्रहरी कार्यालय गुल्मीका  प्रहरी निरीक्षक सुमित  नेपालीले  पठाएको समाचार  विवरणमा  उल्लेख छ  । 

घाइतेमध्ये गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट निवासी छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा  गम्भीर अवस्थामा उपचार भइरहेको छ। स्याङ्जाको वालिङ नगरपालिका निवासी ५०–५५ वर्षीया गोमता पाण्डेको पाल्पास्थित मिसन अस्पतालमा मध्यम अवस्थामा उपचार भइरहेको छ। त्यस्तै, वालिङ नगरपालिका–१० निवासी बालकृष्ण सुवेदीको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मी, स्याङ्जामा मध्यम अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।


दुर्घटनाको जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको कमान्डमा छ जना, इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमान्डमा पाँच जना र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको कमान्डमा १० जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो। घाइतेमध्ये चार जनालाई कालीगण्डकी सामुदायिक अस्पताल मिर्मी, स्याङ्जातर्फ पठाइएको प्रहरीले जनाएको छ।दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया