बुटवल, माघ २९
सैनामैना–३ मुर्गियामा सञ्चालित फिटनेस टाइम जिम क्लबको आयोजनामा बिहीबार सम्पन्न फिटनेस टाइम क्लासिक–२०८२ शारीरिक सुगठन प्रतियोगिताको उपाधि बिज्ञान थापाले जित्न सफल भएका छन्।
फाइनल चरणमा उत्कृष्ट प्रदर्शन गर्दै विजेता बनेका थापाले नगद ६ हजार रुपैयाँ, मेडल तथा ट्रफी प्राप्त गरेका छन्। पाँच विधामा गरिएको प्रतिस्पर्धात्मक प्रतियोगितामा उनले अन्य १४ जना खेलाडीलाई पछि पार्दै उपाधि आफ्नो पक्षमा पारेका हुन्।
चर्चित अन्तर्राष्ट्रिय शारीरिक सुगठन खेलाडी कृष्ण श्रेष्ठद्वारा मुर्गियामा सञ्चालित फिटनेस टाइम जिम क्लबको आयोजनामा क्लबस्तरीय सदस्यहरूबीच उक्त प्रतियोगिता सम्पन्न भएको हो। सैनामैना नगरपालिकामा पहिलो पटक क्लबस्तरको शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिएको फिटनेस टाइम जिम क्लबका सञ्चालक श्रेष्ठले जानकारी दिए।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका उपाध्यक्ष सितु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा रुपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष राजकुमार श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
कार्यक्रममा सैनामैना नगरपालिकाका नगर खेलकुद विकास समितिका अध्यक्ष खेम श्रेष्ठ, मुर्गिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रह्लाद केसीलगायतको उपस्थिति रहेको थियो।
आगामी चैत्र ६ र ७ गते बुटवलमा आयोजना हुने रामापिथेकस राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको तयारीस्वरूप उक्त प्रतियोगिता सञ्चालन गरिएको आयोजकले बताएका छन्।
प्रतियोगिताका विधागत विजेताहरू क्रमशः प्रविन पौडेल, सन्दीप ज्ञवाली, कपिल घर्ती र सन्दीप पुन रहेका छन्।