नवलपुरको गैंडाकोटस्थित नारायणी नदीमा डुबेर दुई किशोर किशोरी बेपत्ता

nepalglobalnetwork.com

गैंडाकोट, ९ कात्तिक। नवलपुरको गैंडाकोटस्थित नारायणी नदीमा डुबेर दुई किशोर  किशोरी बेपत्ता भएका छन्। नदीमा डुबेकी एक किशोरीलाई उद्धार गर्ने क्रममा थप दुई  जना नदीमा पसेका थिए। तीमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ भने दुई जना बेपत्ता भएका छन्।


जिल्ला प्रहरी कार्यालयका अनुसार साँझ करिब ५:२० बजे गैंडाकोट नगरपालिका–१ स्थित ब्रिटिस क्याम्प पार्क नजिक नारायणी नदीमा गैंडाकोट–१ निवासी १७ वर्षीया वर्षा सुनार डुबेको देखेपछि उनलाई उद्धार गर्न गैंडाकोट–२ निवासी १५ वर्षीय प्रतिक सापकोटा र १४ वर्षीय सविन सुनार नदीमा पसेका थिए।


नदीमा पसेका तीनै जना डुबेर बेपत्ता भएकोमा चितवनको राप्ती नगरपालिका–९ निवासी ४१ वर्षीय चेकमान सिंह लामाले सविन सुनारलाई सकुशल उद्धार गरेका छन्। वर्षा सुनार र प्रतिक सापकोटा भने बेपत्ता छन्।


घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी र सशस्त्र प्रहरी बल नेपाल पितौजीबाट २० जनाको टोली उद्धार कार्यमा खटिएको प्रहरीले जनाएको छ।


बोटसहित परिचालित सुरक्षाकर्मीले बेपत्ता दुई जनाको खोजी गरिरहेको जनाइएको छ।

प्रतिक्रिया