नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागहरूका सम्बन्धमा सरकारले उदासीनता देखाएको भन्दै भोलिदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्द गर्ने घोषणा गरेका छन्।
म्यानपावर कार्यालय मात्रै नभएर म्यानपावर मार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने प्रक्रिया समेत पूर्ण रूपमा रोक्ने सङ्घले जनाएको छ।
सङ्घका वरिष्ठ उपाध्यक्ष महेश कुमार बस्नेतले आज बेलुका १२ बजेसम्म सबै म्यानपावरलाई प्रक्रिया पूरा भएकाको उडान गर्ने एक साताअघि नै सर्कुलर जारी गरेको बताए । उनले १२ बजेसम्म सबै प्रक्रिया पूरा भएर उडान गर्ने तयारी भएका जानुहुन्छ तर प्रक्रिया पूरा भएको भए पनि भोलीदेखि उडान नहुने बताए। सङ्घका अनुसार भोली देखि काठमाडौँस्थित मुख्य कार्यालय र देशभरका सबै शाखा कार्यालयहरू बन्द, वैदेशिक रोजगारीका लागि गरिने नयाँ विज्ञापन, अन्तर्वार्ता र सम्पूर्ण रिक्रुटिङ प्रक्रिया, पूर्व–निर्धारित सम्पूर्ण श्रमिक उडान र वैदेशिक रोजगारीसँग सम्बन्धित सबै प्रकारका सरकारी र प्रशासनिक काम–कारोबार बन्द हुने छ।
सङ्घका महासचिव हीराबहादुर डाँगीले जारी गरेको विज्ञप्तिमा यो आन्दोलन कुनै व्यक्ति वा समूहको लाभ–हानिका लागि नभई समग्र व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा जायज मागहरूको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म सङ्घर्ष फिर्ता वा स्थगित गरिने छैन ।’ सङ्घले वार्ता र संवादका लागि ढोका खुला रहेको बताए पनि सरकारको ठोस कदम नआएसम्म काममा नफर्कने अडान लिएको छ । सङ्घले आफ्ना सदस्य संस्थाहरूलाई लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन नगर्न स्पष्ट निर्देशन दिएको छ।
यदि कसैले सङ्घको निर्णय अवज्ञा गरी काम सुचारु राखेमा त्यस्ता संस्थाको अभिलेख राखी भविष्यमा सङ्घबाट प्राप्त हुने सहयोग र संरक्षणबाट वञ्चित गरिने र आगामी समीक्षा भेलाबाट कारबाहीको प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिइएको छ ।