भदौ १० भित्रै प्रक्रिया पूरा गर्नुस् भन्ने सूचना कहाँ छरु साना किसान पर्रोहामा विवाद
सैनामैना । साना किसान कृषि सहकारी संस्था लिमिटेड पर्रोहाले निर्वाचन प्रक्रिया अघि बढाउने भन्दै सदस्यता तथा शेयरसम्बन्धी प्रक्रिया स्थगित गरेको सूचनाप्रति सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेको छ । सहकारीले भदौ १० गतेको सञ्चालक समितिको निर्णयलाई आधार बनाउँदै असोज १ गतेदेखि समूहको निर्वाचन प्रक्रिया अघि बढाउने र अधिवेशन सम्पन्न नभएसम्म नयाँ शेयर सदस्य बन्ने तथा शेयरमा अर्काको ठाउँमा बस्ने प्रक्रिया स्थगित गरिएको जनाएको छ ।
सहकारीले जारी गरेको दुइ सूचना मध्ये एउटा सुचनामा मंसिर महिना भित्र र अर्को सुचनामा पुस मसान्त भित्र आठौँ अधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले असोज १ गतेदेखि समूहको निर्वाचन गर्ने प्रक्रिया अघि बढाउने उल्लेख छ । किन दुइवटा सूचनामा फरक फरक समय राखियो यो समेत चर्चाको विषय वनेको छ । साथै, भदौ १० गतेको सञ्चालक समितिको निर्णय तथा विभिन्न समितिका पदाधिकारीहरूको बैठकबाट भएको जानकारीका आधारमा अधिवेशन सम्पन्न नहुँदासम्म शेयर सदस्य बन्ने, शेयरमा अर्काको ठाउँमा बस्ने तथा समूह बन्ने प्रक्रिया स्थगित गरिएको जनाइएको छ ।
तर, निर्वाचन हुँदैछ, सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिन वा शेयर खरिद तथा नामसारी गर्न चाहने सदस्यले निश्चित मितिभित्र प्रक्रिया पूरा गर्नुपर्छ भन्ने पूर्वसूचना सदस्यहरूलाई प्रभावकारी रूपमा दिइएको थियो कि थिएन भन्ने प्रश्न चौतर्फी उठेको छ ।
विशेषगरी, भदौ १० गते सञ्चालक समितिले निर्णय गरेको भए त्यसको करिब १५ दिनपछि मात्र सदस्यता तथा शेयरसम्बन्धी प्रक्रिया स्थगित गरिएको सूचना सार्वजनिक गर्नुले सदस्यहरूलाई पर्याप्त जानकारी र अवसर दिइयो कि दिइएन भन्ने विषयमा प्रश्न उठेको हो ।
यस विषयमा सहकारीका मुख्य प्रबन्धक दिनेश घिमिरेसँग अब निर्वाचन हुँदैछ, तोकिएको मितिसम्म सदस्यता नवीकरण गर्नुस्, नयाँ सदस्य बन्नुस्, शेयर खरिद वा नामसारी गर्नुस् भन्ने पूर्वसूचना सामाजिक सञ्जालमा कहाँ र कहिले राखिएको थियो भन्ने प्रश्न गर्दा घिमिरेले भदौ १० गतेभित्र सदस्यता नवीकरण गर्न, नयाँ सदस्य बन्न तथा शेयर नामसारी तथा खरिद गर्न आग्रह गरिएको सूचना सामाजिक सञ्जालमा नराखिएको तर सूचना पाटीमा टाँस गरिएको जानकारी गराउनुभएको थियो ।
तर, उक्त दाबीको आधारमा सूचना पाटी समेत हेर्दा भदौ १७ गतेको एउटा सूचना टाँस गरिएको देखियो । उक्त सुचनामा लेखिएको थियो उपरोक्त संबन्धमा यस संस्थाको आठौ अधिबेसन यहि मंसिर महिना भित्र गर्नु पर्ने भएकोले समुह, अन्तरसमुहको निर्वाचन यहि २०८३ असोज महिनाको १ गते देखि बाट शुरुवात गर्नु पर्ने भएकोले सबै समुह ले नियमित गर्नु पर्ने समुह बचत तथा कर्जाको ब्याज समयमै बुझाउन अनुरोध छ, यदि नियमित नभएमा प्रतिनिधी तथा पदाधिकारीमा सहभागि हुन पाईने छैन ।
यसले सहकारीको निर्वाचन प्रक्रिया, सदस्यता व्यवस्थापन र शेयरसम्बन्धी निर्णयमा पारदर्शिता र समान अवसरको प्रश्न उठाएको छ । निर्वाचनको तयारीका क्रममा सदस्यता तथा शेयर कारोबार बन्द गर्नुअघि सबै शेयर सदस्यलाई पर्याप्त समय र समान सूचना दिइएको थियो कि थिएन भन्ने विषय अहिले बहसको केन्द्रमा आएको छ ।
भदौ १० गते भएको निर्णय तत्काल सार्वजनिक नगरी करिब १५ दिनपछि मात्र सदस्यता तथा शेयरसम्बन्धी प्रक्रिया रोकिएको सूचना जारी गर्नुको कारण के हो ?
त्यस्तै, यदि सदस्यता नवीकरण, नयाँ सदस्यता तथा शेयर खरिद–नामसारीका लागि भदौ १० गतेभित्रै समयसीमा तोकिएको थियो भने त्यसको प्रमाणित सूचना कहाँ छ ? सूचना पाटीमा टाँस गरिएको भनिएको सूचना किन भेटिएन ? भन्ने प्रश्न पनि उठेको छ ।
सदस्यहरूलाई निर्वाचनको प्रक्रियाबारे समयमै जानकारी नदिई अन्तिम समयमा प्रक्रिया बन्द गरिएको हो भने त्यसले निर्वाचनको निष्पक्षता र सदस्यहरूको समान सहभागितामाथि नै प्रश्न उठाउने देखिन्छ । अब सहकारी व्यवस्थापनले यस विषयमा स्पष्ट प्रमाणसहित जवाफ दिनुपर्ने देखिएको छ।