पाल्पा।
तिनाउ गाउँपालिका–१, झिंगामारास्थित रामपाता वन कार्यालय परिसरमा निर्माणाधीन सामुदायिक पार्कले स्थानीयवासीको सक्रिय सहभागितासँगै गति लिएको छ। प्रत्येक शनिबार सञ्चालन हुने श्रमदान अभियानमार्फत पार्क निर्माण, हरियाली प्रवर्द्धन तथा पर्यटकीय पूर्वाधार विकासका विभिन्न कामहरू निरन्तर भइरहेका छन्।
स्थानीय बासिन्दाको श्रमदानसँगै विदेशमा रहेका झिंगामारावासीहरूको आर्थिक सहयोगले अभियानलाई थप मजबुत बनाएको छ। हालसम्म पार्क क्षेत्रमा करिब २५० वटा विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको छ भने आगन्तुकलाई सहज भ्रमण गराउन वाकिङ ट्रेल निर्माण भइरहेको छ। साथै, वृक्षारोपण, हरियाली व्यवस्थापन तथा अन्य आवश्यक संरचना निर्माणको काम पनि योजनाअनुसार अघि बढिरहेको छ।
पछिल्लो समय झिंगामारा धार्मिक तथा प्राकृतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। विभिन्न देशबाट बौद्ध भिक्षुहरूको आगमन बढ्नुका साथै आन्तरिक पर्यटकहरूको संख्या पनि वृद्धि हुँदै गएको स्थानीयवासी बताउँछन्। निर्माणाधीन सामुदायिक पार्कले यस क्षेत्रको धार्मिक, पर्यावरणीय तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
यस अभियानको नेतृत्व स्थानीय युवा मिलन तरामु ले गरिरहेका छन्। उनका अनुसार भौतिक पूर्वाधारले सम्पन्न छिमेकी पालिका सैनामैना र बुटवल नजिकै रहेर पनि पर्यटकीय सम्भावना बोकेको झिंगामाराले अपेक्षित सरकारी प्राथमिकता पाउन सकेको छैन। त्यसैले आफ्नै गाउँलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले स्थानीयवासी आफैं अग्रसर भई पार्क निर्माण अभियान सुरु गरिएको हो।
तरामुले स्थानीय समुदाय, विदेशमा रहेका गाउँले तथा सहयोगी सबैलाई अभियानमा साथ दिन आग्रह गर्दै सामुदायिक एकता, वातावरण संरक्षण र दिगो पर्यटन विकासका लागि यो अभियान उदाहरणीय बन्ने विश्वास व्यक्त गरे।