बाँसगढीमा पहिलोपटक सांस्कृतिक तथा व्यापारिक मेला हुँदै, २५ हजारभन्दा बढी दर्शक भित्र्याउने लक्ष्य

nepalglobalnetwork.com

बाँसगढीमा पहिलोपटक सांस्कृतिक तथा व्यापारिक मेला हुँदै, २५ हजारभन्दा बढी दर्शक भित्र्याउने लक्ष्य


सैनामैना, रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–८, बासगढीस्थित ओम श्री किराँतेश्वर महादेव मन्दिरको प्राङ्गणमा प्रथम बाँसगढी सांस्कृतिक तथा व्यापारिक मेला, २०८३ आयोजना हुने भएको छ । 


मेला असोज १४ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 


बिहीबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमका अध्यक्ष एवं मेला आयोजक कार्यक्रमका संयोजक मुकेश थापाले बाँसगढीको स्थानीय कला, संस्कृति र मौलिकताको प्रवर्द्धनसँगै खेलकुद विकासलाई समेत जोडेर मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो । 


उहाँले मेलाबाट प्राप्त आम्दानीलाई भविष्यमा सोही स्थानमा फुटबल मैदान निर्माण तथा खेलकुद पूर्वाधार विकासमा उपयोग गर्ने उद्देश्य रहेको बताउनुभयो । 


बाँसगढीमा पहिलोपटक आयोजना हुन लागेको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ । 


 मनोरञ्जनसँगै स्थानीय कला, संस्कृति, रैथाने परिकार तथा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ । 


मेलाबाट प्राप्त आम्दानीलाई व्यवस्थित रूपमा उपयोग गर्दै भविष्यमा मेलास्थललाई व्यवस्थित फुटबल ग्राउन्डका रूपमा विकास गर्ने योजना आयोजकको रहेको छ । स्थानीय युवालाई खेलकुदमा आकर्षित गर्नुका साथै आवश्यक खेल पूर्वाधार निर्माणमा समेत मेला सहयोगी बन्ने अपेक्षा गरिएको छ । 


मेलामा २५ हजारभन्दा बढी दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । प्रवेशका लागि रु. १०० टिकट शुल्क निर्धारण गरिएको छ भने मेला दिउँसो ३ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । 


इभेन्ट लुम्बिनी, गैंडहवा–८, रुपन्देहीको आयोजनामा सम्पन्न हुने मेलामा ओम श्री किराँतेश्वर महादेव मन्दिर र बुद्धभूमि फुटबल एकेडेमीको सहकार्य रहने छ भने सैनामैना नगरपालिका संरक्षक रहने आयोजकले जनाएको छ ।


मेलाको आयोजक समितिको अध्यक्षमा मुकेश थापा, आर्थिक संयोजकमा कृष्ण अर्याल र सांस्कृतिक संयोजकमा अजित परियार रहेका छन् । त्यस्तै मेलालाई व्यवस्थित बजाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ । 


बाँसगढीमा पहिलोपटक आयोजना हुन लागेको मेलाले स्थानीय संस्कृति, रैथाने परिकार तथा उत्पादनको प्रवर्द्धनसँगै खेलकुद विकासका लागि दीर्घकालीन पूर्वाधार निर्माणमा समेत योगदान पुर्‍याउने आयोजकको अपेक्षा छ ।#sainamaina #fypシ゚viralシ #sainamaina #basgadi #entertainmentnews

प्रतिक्रिया