नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले वर्तमान परिवर्तन र उपलब्धिलाई संस्थागत गर्दै जनआकाङ्क्षा पूरा गर्न नवनिर्वाचित शक्ति र सरकारलाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आफूहरू इतिहासको साक्षी र सङ्घर्षको उत्तराधिकारीका रूपमा सदनमा उपस्थित भएको उल्लेख गर्दै नयाँ जनमतलाई परिवर्तनको संवाहकका रूपमा स्वीकार गरेको बताए।
पुनले विगतका आन्दोलन र जनयुद्धकै कारण आज राज्यका हरेक निकायमा महिला, दलित र उत्पीडित समुदायको प्रतिनिधित्व सम्भव भएको स्मरण गराए। २० वर्षअघिको तुलनामा आज महिलाहरूको सम्पत्तिमाथिको स्वामित्व र राज्यका उच्च पदमा उनीहरूको पहुँच पुग्नु ठुलो क्रान्ति भएको उनको तर्क छ। १८ वर्षअघि १९ हजार किलोमिटर रहेको सडक सञ्जाल आज सवा लाख किलोमिटर पुग्नुलाई उनले विकासको गतिको उदाहरणका रूपमा प्रस्तुत गरे। यद्यपि, भदौ २३ र २४ को युवा विद्रोहले वर्तमान विकास र सुशासनको गति पर्याप्त छैन भन्ने स्पष्ट पारेकाले त्यसलाई आत्मसात् गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।पूर्वमन्त्री समेत रहेका पुनले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारलाई आफ्नो ऐतिहासिक अनुभव सुनाउँदै सतर्क रहन सुझाव दिए। २०६४ सालमा माओवादीले र २०७४ सालमा तत्कालीन नेकपाले पाएको झण्डै दुई तिहाइको जनमतलाई सदुपयोग गर्न नसकिएको स्वीकार गर्दै उनले नयाँ शक्तिलाई ती कमजोरीबाट शिक्षा लिन आग्रह गरे। "हामीले जनमत सदुपयोग गर्न सकेनौँ, हाम्रा ती सीमा र कमीहरूबाट शिक्षा लिएर तपाईंहरूले देश र पार्टीलाहामीले जनमत सदुपयोग गर्न सकेनौँ, हाम्रा ती सीमा र कमीहरूबाट शिक्षा लिएर तपाईंहरूले देश र पार्टीलाई अगाडि बढाउनुहोस्," उनले सदनमा भने।