नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा संसदीय दलका नेता तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले संसदमा दिएको अभिव्यक्तिबारे मुख्य रूपमा छलफल हुने जनाइएको छ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बादलले राष्ट्रिय स्वतन्त्र पार्टीको विजय विभिन्न संस्थागत प्रभावका कारण सम्भव भएको टिप्पणी गरेका थिए। उनले नेपाली सेना, कर्मचारीतन्त्र, न्यायिक निकाय तथा केही अन्तर्राष्ट्रिय संस्थाको भूमिकासमेत उल्लेख गरेपछि उक्त अभिव्यक्ति विवादमा तानिएको हो।
बादलको भनाइप्रति एमालेभित्रै असहमति देखिएको छ। उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालमार्फत उक्त अभिव्यक्ति पार्टीको स्थापित नीति र मान्यताविपरीत रहेको बताएका छन्। उनले सचिवालय बैठकमा यसबारे गम्भीर छलफल हुने अपेक्षा व्यक्त गरेका छन्।
२० चैत २०८२, शुक्रबार ०९:०१ मा प्रकाशित