सैनामैना खानेपानी र परोहा सहकारीको संयुक्त आयोजनामा रक्तदान: १५३ युनिट रगत सङ्कलन

nepalglobalnetwork.com

नेपाल ग्लोबल नेटवर्क - सैनामैना 

सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र परोहा बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आज परोहा बचत तथा ऋण सहकारीको कार्यालय, सैनामैना-१ मा आयोजित उक्त कार्यक्रममा १५३ जनाले रक्तदान गरेका छन्।

​कार्यक्रममा बोल्दै सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष एकबहादुर क्षेत्रीले परोहा बचत तथा ऋण सहकारीसँग सहकार्य गरेर निरन्तर सामाजिक कार्य गर्दै आएको बताउनुभयो। उहाँले भन्नुभयो, "अहिले रसुवाका बाढीपीडित, घाइते तथा अन्य बिरामीहरूका लागि रगतको अभाव नहोस् भन्ने मुख्य उद्देश्यका साथ यो रक्तदान कार्यक्रम आयोजना गरिएको हो। दुवै संस्थाको संयुक्त प्रयास र सबैको सहयोगले नै कुल १५३ पिन्ट रगत सङ्कलन गर्न सफल भएका छौँ।"

​यस्तै, समाजसेवी एवं परोहा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजबहादुर क्षेत्रीले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता परोपकारी कामहरूलाई सधैँ प्राथमिकतामा राख्दै आएको जानकारी दिनुभयो।

​रक्तदान कार्यक्रमका संयोजक फटिक केसीले निकै उत्साहजनक रूपमा उपस्थिति जनाई रक्तदान गर्ने सम्पूर्ण १५३ जना रक्तदाताहरूप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्नुभयो।

​रक्तदान कार्यक्रममा दुवै संस्थाका अध्यक्षहरूले ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उदधाटन  गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन परोहा बचत तथा ऋण सहकारीका सचिव एवं युवा समाजसेवी विष्णुप्रसाद रेग्मीले गर्नुभएको थियो।

प्रतिक्रिया