फुकुओकामा लक्ष्मी राजवंशी हत्या प्रकरणमा ३ नेपाली पक्राउ

nepalglobalnetwork.com

फुकुओकामा लक्ष्मी राजवंशी हत्या प्रकरणमा ३ नेपाली पक्राउ


जापानको फुकुओकामा नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको हत्या प्रकरणमा प्रहरीले तीन जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।


फुकुओका सहरको केन्द्र हुँदै बग्ने नाकागावा नदीमा गत अगस्ट १९ मा मृत अवस्थामा भेटिएकी २५ वर्षीया नेपाली विद्यार्थी राजवंशी लक्ष्मीको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जापानी सञ्चारमाध्यमले जनाएका छन्। 


प्रहरीले मंगलबार बिहान करिब ६ः३० बजे फुकुओका सहरको हाकाता क्षेत्रमा रहेको एक अपार्टमेन्टमा पुगेर तीन जनालाई क्रमशः अनुसन्धानका लागि साथमा लगेको थियो। त्यसपछि उनीहरूविरुद्ध हत्या गरेको आरोपमा पक्राउ पुर्जी प्रक्रिया अघि बढाइएको बताइएको छ। (

यद्यपि, पक्राउ पर्नु दोषी ठहर हुनु होइन। प्रहरीले घटनाको वास्तविकता, उनीहरूको संलग्नता र हत्याको कारणबारे थप अनुसन्धान गरिरहेको छ।


लक्ष्मीको शव भेटिएपछि प्रहरीले उनको टाउकोमा धेरै चोट रहेको तथा उनी बस्दै आएको कोठामा रगतका निशान र झगडा भएको देखिने अवस्था फेला पारेको थियो। त्यसपछि प्रहरीले घटनालाई हत्या मानेर अनुसन्धान अघि बढाएको थियो। लक्ष्मी अगस्ट १८ राति करिब १०ः३० बजे काम गर्ने रेस्टुरेन्टबाट निस्किएर घर फर्किएको प्रहरीले पुष्टि गरेको थियो। उनको घरबाट करिब २ किलोमिटर तलतर्फ नाकागावा नदीमा भोलिपल्ट बिहान शव भेटिएको थियो। 


प्रहरीले पक्राउ परेका तीन जनाबीचको सम्बन्ध, घटनाको सम्भावित कारण तथा घटनाको विस्तृत क्रमबारे अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया