इतिहासको भविष्य - बिक्रम अधिकारी

nepalglobalnetwork.com

समय सापेक्ष र गतिशील छ। अर्थात, आज सान्दर्भिक लाग्ने कुरा वा विषयवस्तु केही समयपछि असान्दर्भिक लाग्ने निश्चित छ। समयको गतिशीलताको अवलोकन र मूल्यांकन गर्नुले हाम्रो भूगोल र मानव सभ्यताको इतिहास केलाउन र भावी योजना निर्माणमा टेवा पुग्दछ।

कुनै समय डाइनोसरका लागि उपयुक्त यो पृथ्वी, सायद डाइनोसरको अत्यधिक संख्याका कारण आहारामा कमी आउँदा आफैं लोप हुने अवस्था सिर्जना भएको थियो।

तसर्थ, समाज र प्रकृतिको आफ्नो गतिशीलता हुन्छ। समय अनुसार घटनाक्रम चल्दै जान्छ र सान्दर्भिकता सकिएको दिन अन्त्य हुन्छ, यो सामान्य कुरा हो। यो कुरा जुनसुकै सभ्यताको आर्थिक, सामाजिक र राजनीतिक पाटोमा लागू हुन्छ।

१. प्रविधिको परिवर्तन

कुनै समय बजारमा मेमोरी कार्ड आउँदा एकदमै नौलो कुरा थियो। Kb, Mb, Gb हुँदै Tb सम्म बजारमा आयो। लाग्थ्यो Tb भन्दा माथि के आउला? के होला? तर समय र प्रविधिको खेल यस्तो रह्यो कि मेमोरी कार्ड नै आउन बन्द भयो। अर्थात, मेमोरी कार्डको सान्दर्भिकता सकियो।

२. जातीय विभाजनको सान्दर्भिकता

कुनै समय कामका आधारमा जातीय विभाजन भएको समाज, चेतनाको वृद्धिसँगै ‘जुन काम गरे पनि एकै हो’ भन्ने मनोविज्ञानका कारण, त्यो विभाजनको सान्दर्भिकता हराउँदै गएको छ। अर्थात, समाज नयाँ स्वरूपमा निर्माण हुँदैछ। हुनेखाने वर्गको प्रभावमा जातीयताको दुरुपयोग भएदेखि नै त्यसरी विभाजित समाजको सान्दर्भिकता सकिन थालेको हो। अनुकूलता, स्वार्थ र शक्ति अनुसार फरक भएका हुन्।

३. शक्ति सन्तुलन र समाज

समाज र राष्ट्रमा शक्ति सन्तुलनका आधारमा राज्य सञ्चालन हुनु स्वाभाविक हो। विशेषगरी हाम्रो राष्ट्रको कुरा गर्दा, इतिहासमा जब-जबसम्म शक्ति सन्तुलन भएको छ, तब भन्न र देख्न लायक समाजको विकास भएको छ।

जब शक्ति सन्तुलनमा समस्या आयो, तब बलियो पक्षको दम्भ, एक्लोपन र आफ्नो प्रभावको उचित प्रयोग नहुँदा बाधा पुगेको इतिहासमा देखिन्छ। नेपालको राजनीतिक इतिहास हेर्दा – कुनै समयका राणा, राजाबादी, काङ्ग्रेस थिए, पछि असन्तुष्ट भएपछि कम्युनिस्ट बने, एमाले बाट असन्तुष्ट भएपछि माओवादी बने। अर्थात, कुनै बेलाको विचार वा आवश्यकता सकिएको दिन नयाँ विचार उत्पन्न हुनु समाजको गतिशीलता हो। त्यसैको उपजका रूपमा अहिले पुरानो दलहरूको कार्यशैली र कार्यक्षमताबाट आजित भएर रास्वपा वा अन्य वैकल्पिक शक्ति निर्माण हुनु वा त्यसमा आशा राख्नु सामान्य कुरा हो।

ऐतिहासिक रूपमा भौतिक तथा मनोवैज्ञानिक असरहरूले समाजलाई परिवर्तन गर्दै नयाँ स्वरूप दिन खोज्ने प्रयास हुन्छ। तसर्थ, ऐतिहासिक घटनाक्रम र यथार्थलाई अनुसरण गरी भावी योजनाको तर्जुमा गर्न सकियो भने समाज उपयुक्त रूपमा अघि बढ्न प्रेरित हुन्छ।

  - बिक्रम अधिकारी ,सैनामैना रुपन्देही 

प्रतिक्रिया