मैले भन्दै नभनेको कुरा भनेको भन्दै फोटोशप गरेको नक्कली सामग्री फैलाइयोः स्वर्णिम वाग्ले

nepalglobalnetwork.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद स्वर्णिम वाग्लेले आफ्नो बारेमा फेक सामग्री बनाएर सामाजिक सञ्जालमा फैलाइएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । मङ्गलबार फेसबुकमा एक भिडिओ पोस्ट शेयर गर्दै वाग्लेले फेक पोस्टहरूको खण्डन गरेका हुन् ।

भाइरल भइरहेको पोस्टमा "सिमानाको विषय उठाएर भारत संग निहु खोज्नु मुर्खता हो - स्वर्णिम वागले" भन्दै लेखिएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समेत उक्त पोस्ट शेयर गरेका छन् । 

तर वाग्लेले आफ्नो फोटो लिएर नक्कली फोटोशप गरेर भाषिक अशुद्ध हिसाबले, आफ्नो शैलीसँग पनि नमिल्ने जम्मै नक्कली टेक्स्ट हालेर आफूले बोल्दै नबोलेको कुरा छ्या‍पछ्याप्ती पारेर बदनाम गर्ने खेल चलिरहेको बताए ।

"अब त त्यो डिपफेक भन्ने टेलिफोनबाट मेरो आवाज भनेर एआईबाट हालेर पनि, शेरबहादुर देउवा केपी ओलीले गीत गाएको एआई भिडिओ सामाजिक सञ्जालमा छ्या‍पछ्याप्ती भए जस्तै तथाकथित टेलिफोन सम्वाद गरेको भनेर आइरहेको रैछ । यी चाहिँ फेक हुन् । मेरो आधिकारिक पेजबाट आएका चिजहरूलाई मात्र पत्याइदिनु होला । नक्कलीमा चाहिँ विश्वास नगर्नु होला," उनले स्पष्ट पार्दै भनेका छन् ।

प्रतिक्रिया