युवा संघ सचिव कार्की र अनेरास्ववियु उपाध्यक्ष गौतमको राजीनामा

nepalglobalnetwork.com


जेन–जि भनिने नवयुवा पुस्ताले सञ्चालन गरेको प्रदर्शनले उग्र रुप लिँदै जाँदा नेकपा (एमाले) भित्रै असन्तुष्टि देखिन थालेको छ। सैनामैना–२ का युवा संघ शाखा कमिटीका सचिव किशोर कार्की र अनेरास्ववियु बुटवल उपमहानगर समितिका उपाध्यक्ष प्रतीक गौतमले पदबाट राजीनामा दिएका छन्।
सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गर्दै सचिव कार्कीले भावुक शब्द प्रयोग गरेका छन्। उनले लेखेका छन् – “आज मेरो रगत उम्लिएको छ, रगत तातेको छ, मन रोएको छ। म र हामीभन्दा साना भाइहरूले देश परिवर्तनका लागि आवाज उठाउँदा मारिएका छन्, केपी ओली सरकारले मारेको छ।”


जेन–जि भनिने नवयुवा पुस्ताले सञ्चालन गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोलीबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। यस घटनापछि कार्कीले आफ्नो मातहतका सम्पूर्ण युवाहरूसहित संगठन त्याग्ने घोषणा गरेका छन्।
कार्की लामो समयदेखि युवा संघमार्फत सक्रिय राजनीतिमा संलग्न थिए। स्थानीय क्षेत्रमा उनको बलियो प्रभावका कारण नै गत निर्वाचनमा सैनामैना–२ मा नेकपा (एमाले) विजयी भएको मानिन्छ।

पछिल्ला घटनाक्रमप्रति उनले देखाएको असन्तुष्टि एमालेभित्रको आन्तरिक संकटको संकेतका रूपमा हेरिएको छ।
यता, अनेरास्ववियु बुटवल उपमहानगर समितिका उपाध्यक्ष प्रतीक गौतमले पनि सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएका छन्। उनले “कठै मेरो देश, कठै नालायक सरकार” भन्दै आक्रोश पोखेका छन्। गौतम लामो समयदेखि लुम्बिनी वाणिज्य क्याम्पसमा विद्यार्थी राजनीतिमा सक्रिय थिए र अनेरास्ववियु हुँदै एमालेसँग जोडिएका थिए ।

देशभर फैलिएका प्रदर्शनहरूमा युवा पुस्ताको सक्रिय सहभागिता बढ्दो छ। सरकारले प्रदर्शन नियन्त्रणका लागि अपनाएको कठोर कदम र गोली प्रहारले एमालेभित्रै असन्तोषको ज्वाला फैलिएको देखिएको छ।


कार्की र गौतमजस्ता सक्रिय युवा नेताहरूको राजीनामाले पार्टीको स्थानीय संगठन कमजोर हुने सम्भावना छ। विशेष गरी सैनामैना–२ जस्तो क्षेत्रमा, जहाँ कार्कीको बलियो पकड थियो, एमालेको भविष्यमा प्रत्यक्ष असर पर्न सक्ने राजनीतिक विश्लेषकहरूको बुझाइ छ।

प्रतिक्रिया