nepalglobalnetwork.com
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा प्रतिवादी बनाइएका जीतपुरसिमरा उपमहानगरपालिका–१ का प्रोग्रेश (पुरग्रेश) चौधरीसहित १० जनालाई बारा जिल्ला अदालतले रिहा गरेको छ। न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले चौधरीलाई २० हजार रुपैयाँ धरौटी र अन्य ९ जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।

अदालतले प्रोग्रेशका बुबा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममताका साथै सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिनलाई साधारण तारेखमा छाडेको छ। घटनामा उनीहरूको संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएकाले रिहा गरिएको अदालतको आदेशमा उल्लेख छ।

बालिकाका बुबा मनोज चौधरीको किटानी जाहेरी दिएका थिए । साेही आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतमा पेस गरेको थियो। अदालतले घटनामा उनीहरुको संलग्नता देखिने ठोस प्रमाण नदेखेपछि रिहा गरेको हो । आदेशसँगै उनीहरू बिहीबार साँझ छुटेका छन्।

यसअघि अदालतले उक्त घटनामा प्रतिवादी बनाइएका दुई नाबालकलाई बाल सुधारगृह पठाउने आदेश गरेको थियो। न्यायाधीश अधिकारीको इजलासले बुधबार दुई नाबालकलाई बाल सुधारगृहमा राखी घटनाको पुर्पक्ष गर्न आदेश दिएको हो। उक्त आदेशसँगै उनीहरूलाई वीरगन्जस्थित बाल सुधारगृह पठाइएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन्।

बाल सुधारगृहमा पठाइएका दुईमध्ये एक नाबालकले घटना आफूले गरेको स्वीकार गरिसकेका छन्। बालिकाको शव भेटिएकै दिन पक्राउ परेका नाबालकले बालिकालाई चकलेट खुवाएर बलात्कारपछि हत्या गरेको बयान दिएका थिए। नाबालकको बयान घटनास्थल र शवको अवस्थासँग मिल्दोजुल्दो भएपछि घटनामा उनैको संलग्नता रहेको निष्कर्ष प्रहरीको थियो।

अनुसन्धानकै क्रममा ती नाबालकले घटनामा अर्को एक साथीको समेत संलग्नता रहेको बयान दिँदै गरेको भिडियो बाहिरिन पुगेको थियो। प्रादेशिक अस्पताल कलैयाको ओसीएमसी (OCMC) कक्षमा चिकित्सकसँग कुरा गरिरहेको उक्त भिडियो प्रहरी हवल्दार कुमार विकले ‘लीक’ गरेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा फैलिएपछि जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी हवल्दार विकलाई हिरासतमा राखी वैयक्तिक गोपनीयतासम्बन्धी ऐन २०७५ र विद्युतीय कारोबार ऐन २०६३ सम्बन्धी कसुरमा कारबाही अघि बढाएको छ।

नाबालकको उक्त भिडियो सामाजिक सञ्जालमा बाहिरिनुअघि नै प्रहरीले जीतपुरसिमरा–२ का अर्का नाबालकलाई समेत पक्राउ गरिसकेको थियो। पक्राउ परेका ती नाबालकले भने घटनामा आफ्नो संलग्नता नरहेको बयान दिएका छन्। अदालतले दुवै नाबालकलाई मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म बाल सुधारगृहमा पठाउने आदेश दिएको हो।

जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको भदौ २ गते घरनजिकै बलात्कारपछि हत्या गरेको अवस्थामा शव फेला परेको थियो। साउन ३१ गतेदेखि हराएकी बालिकाको शव घरदेखि करिब एक सय मिटर दक्षिणतर्फको खाली घरमा भेटिएपछि परिवारसहित स्थानीय आन्दोलित बनेका थिए।

उक्त घटनालाई लिएर देशभर आन्दोलन चर्किएको थियो। भदौ ६ गते गृह मन्त्रालयमा गृहमन्त्री, कानुनमन्त्री, प्रहरी महानिरीक्षकसहित सरकारी टोलीसँग मृतक बालिकाका बुबा मनोज र आमा मानमतीले वार्ता गरेका थिए। वार्तामा तीनबुँदे सहमति भएपछि बालिकाको भदौ ७ गते कलैयाको पसाहा खोलामा अन्त्येष्टि गरिएको थियो

प्रतिक्रिया