निर्वाचन नजिकिदै जादा विभिन्न विश्लेषण हुँदै छन, को हार्छ को जित्छ? अहिलेको समयमा हामी मतदाताले बुझ्नुपर्ने अब हामी कस्तो समाजको निर्माण गर्ने हो? भन्ने कुरा मुख्य हो।
इतिहासमा यस्ता चुनाव धेरै आए, उहीँ क्वाटी जस्तै मिसिएका दलहरुको सरकार बन्नका लागि तर पोषण बिहिन क्याटी बन्न पुग्यो।पहिले समाजका कठित हुनेखानेले भनेको मान्नुपर्ने अवस्था थियो, बिस्तारै आफ्नो लागि मात्र गर्ने स्वार्थी भैसकेपछी, शक्ति व्यायाम गर्न थालेपछि ती हुनेखानेको कुरा आम मानिसले पत्ताउन छाडे, भनौ गन्न छाडे। अहिले हामी संग ईन्टरनेट छ, ईन्टरनेट भन्या सामाजिक सन्जाल मात्र त होइन, हामी आफ्नो आवश्यकता अनुसार जस्तो धारणा बनाउन सक्छौ । यस्मा चुनौती पक्कै छ तर समाजिक सन्जालको बहकाउमा पुरै मानिसको दुरुपयोग भयो, एल्गोरिदम ले भसाइयो भन्नू उहीँ रुन्चे कुरा हो।
हाम्रा चौथो अङ्गले मिडिया ट्राइल गर्दै भाष्य निर्माण गरेको हामिलाइ थाहा नभएको हो र? त्यसलाइ पनि एल्गोरिदमको सिकार भन्ने त होला नि?
विगत केही बर्ष देखि नेताहरुले जनतालाइ भोट ग्यारेन्टीका रुपमा लिदै मनपरी शक्ति प्रदशन गर्ने, स्वार्थ समुह संग गठ्जोड गर्दा यो अवस्था आएको हो।
के पुराना पार्टिले बारम्बार गल्ती गर्दा गल्ती बोध गरे? गलतलाई सहि बनाउन मिडिया ट्रायल गर्ने चलन पो छ हाम्रोमा। यसैलाइ भन्छन एल्गोरिदमको शिकार। हो, हामी नागरिकलाई हाम्रा पुराना दल र नेताले सधै आफ्नो हितका लागि बनाएको एल्गोरिदममा बाधेर राखेका थिए र त पुराना पार्टीका कार्यकर्ताले आफ्ना नेतालाइ प्रश्न गर्नै सकेनन।
हो, हामी यस्ता नराम्रा कुप्रचार युक्त सामाजिक सन्जालको एल्गोरिदमबाट बच्नु पर्छ। सारमा भन्नू पर्दा एल्गोरिदम समाजमा सधै हुन्छ, यो हावा जस्तै हो। कहिले राम्राका लागि त कहिले नराम्रोका लागि। तर आफ्नो हितमा नहुने भएपछी सोसल मिडियाको एल्गोरिदम भन्दै जनतालाइ दोष धोपार्न खोज्ने जतिपनी राजनितिक दल छन, तिनिहरुको अन्तिम अस्त्र हो यो। स्वार्थ बिपरित भए एल्गोरिदम को सिकार भन्दियो, टन्टै साफ।पहिले आफु अनुकुल जनताका कान भर्दा सहि हुने, अहिले आफु बिरुद्द प्रयोग हुदा जनतालाइ दोष दिने ? यो दोहोरो चरित्रले समाज झन् भाड्न उत्प्रेरकको काम गर्छ।
परिवर्तन के कुरामा ?
पुरानाले केहि नगरेको भन्ने होइन, कुनै समयमा बिजुली , सडक नपुगेको दादा कुना कन्तारामा बिजुली सडक पुगेको छ साक्षरता बढेको छ। हिजो हामि सामान्य अवस्था मा थियौ, हाम्रा प्राथमिकता सडक र बिजुली थियो ति पुरा भए हाम्रो देश सधै ठुला देश को चेपुवा पर्यो। राष्ट्र जोगाउने काम पुराना पार्टीले गरे लोकतन्त्र ल्याए भन्ने भाष्य सधै बन्छतर अब के त? भाद्रमा त्यहि लोकतन्त्र माथि हमला गर्न खोज्दा यो अवस्था आएको होइन तत्कालिन सरकार ले कानुन बनाएर सामाजिक संजाल लाइ नियमन गरेको भए हुन्थ्यो तर बालहठ जस्तै नियमन गर्न खोज्दा यो अवस्था आएको हो।
राष्ट्रको माया पुराना कार्यकर्ता लाइ मात्र छ? लोकतन्त्र मासिन्छ? कसले गर्दा मासिन्छ? जनताका लागि जनताले ल्याएको लोकतन्त्र जनताले मास्न दिन्छन त? जनता सार्वभौम छन्। ध्यानदिनु पर्ने कुरा लोकतन्त्र कसैको बिर्ता होइन, राष्ट्रको माया कुनै कथित बाद बोक्ने कार्यकर्तालाइ मात्र छैन राष्ट्रको माया, राष्ट्रको रक्षा सार्वभौम जनताले गर्छन।आफ्नो पराजय हुने भयले राष्ट्र खतरामा देख्ने आखा सायद कुनैपनि चस्मा फेर्दा निको हुनसक्दैन, समस्या मस्तिष्कमा छ जुन फेर्न मिल्दैन।
नया भन्दैमा पनि सबै राम्रो र सक्षम छन् भन्ने होइन। अब नयाले पछ्याउने बाटो विकास र शुसासन हो। यदि राष्ट्र सक्षम र विकासशिल छ भने राष्ट्रको रक्षा जनताले गर्छन कुनै बाद बोकेका कार्यकर्ताले मात्र भारि बोक्नु पर्दैन ।
अबको संसद कस्तो हुनु पर्छ ?
अबको समय रुपान्तरण को हो। संबिधान बनिसकेपछि यसको पालना र अधिकार सुनिस्चित गर्नुका साटो अझ शक्ति संघर्समा पार्टीहरु रुमलिदा यो अवस्था आएको हो। संबिधानमा सुनिस्चित गरिएका अधिकारका कुरा पार्टीहरुले आफ्नो हितमा व्याख्या गर्ने र तहगत सरकारलाइ स्वाधीन रुपमा कामगर्न नदिदा संघियता उपर नै प्रश्न छ। एउटा प्रश्न;- कामनपाले दिएको छात्रवृति देशका अन्य स्थानियले किन दिन सक्दैनन्? उत्तर प्रस्ट छ राजनीतिक सिन्डिकेट। यदि हाम्रा निकाय लाइ निश्पक्ष भै काम गर्न दिएको भए, अहिले प्रतिनिधिनी सभामा उठेको मान्छेलाइ बाटो, पुल बनाइदिनु भन्नुपर्ने थिएन। राज्यका हरेक निकायमा भएका अनावश्यक राजनीतिकरण, राजनीति बिना भान्सा चल्दैन भन्ने बनाइएको भाष्य, राजनीतिक रुपमा भाडिएको समाजलाइ रुपान्तरण गर्नेगरि नया नेतृत्व आवश्यक छ। र संसदले यसैको प्रतिनिधित्व गर्न सक्नु पर्छ।
तसर्थ अब को साम्सद जनताका आवश्यकता बुझ्ने समय सापक्ष र जालझेल युक्त राजनीति नगरी नीतिगत तबरमा निस्पक्ष भै संबिधान को अक्षरशः पालना तथा संसोधन गरि संबिधानले सुनिस्चित गरेका अधिकार दिलाउने हुनुपर्छ।
विगतका राम्रा पक्ष अङ्गालेर नया सम्भावना र समय सापेक्षतालाई आत्मसात गर्दै अघि बढ्ने संसद चाहिएको छ। ठुला सपना देखाउने र पूरा गर्न नसक्ने पुरानो प्रबृति त्याग्नुपर्छ। हामी जनताले पनि हाम्रो वास्तविकता थाहा पाउनु जरुरी छ। हामी कहाँ छौ ? भन्ने थाहा पाए, अघि बढ्न आत्मविश्वास जाग्ने छ। अब हामी जनता पनि हाम्रो दायित्व र भुमिकाबाट पन्छिने छुट छैन। हामी जनताले पनि आ-आफ्नो भुमिका प्रष्ट रुपमा बुझ्न आवस्यक छ, जुनकुरा अबको संसदले गरोस। तत पश्चात् सम्पुर्णले भुमिका निर्वाह गर्न सक्षम भए देश बन्ने छ। अनि गर्वका साथ भन्न सक्ने छौ, हामी नेपाली।
राज्यका हरेक निकायमा भएका अनावश्यक राजनीतिकरण, राजनीति बिना भान्सा चल्दैन भन्ने बनाइएको भाष्य, राजनीतिक रुपमा भाडिएको समाजलाइ रुपान्तरण गर्नेगरि नया नेतृत्व आवश्यक छ। र संसदले यसैको प्रतिनिधित्व गर्न सक्नु पर्छ।
बिक्रम अधिकारी
सैनामैना -२